युक्रेनबारे विवादास्पद टिप्पणीपछि जर्मन नौसेना प्रमुखद्वारा राजीनामा

Lok Bhatta ३ वर्ष अघि
  • युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए।

    उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताए। युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेको आग्रह अस्वीकार गरेको छ।

    पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका छन् जसमा रुसी सुरक्षा चासोहरू समेटिएको उनको भनाइ छ।

    युक्रेनलाई सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोको सदस्य बन्नबाट रोकिनुपर्ने रुसले माग गरेको छ।

    रुसमाथि प्रत्यक्ष सुरक्षा खतरा हुने भन्दै नेटोले पूर्वी युरोपमा सैन्य अभ्यास गर्न अनि हतियार पठाउन बन्द गर्नुपर्ने पुटिन चाहन्छन्।

    यसैबीच युक्रेन सरकारको नेतृत्वमा मस्को समर्थक व्यक्ति ल्याउनका लागि पुटिनले षड्यन्त्र गरेको यूकेले आरोप लगाएको छ।

    स्रोत ः बीबीसी