सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा ध्यान दिन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

Lok Bhatta २ वर्ष अघि
  • उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए दिएका छन् । जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् ।

    मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन, नागरिकका समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव सहित गर्न निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।

    जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन र विवेकपूर्ण निर्णय गरेर पीडितलाई न्याय दिन उनले निर्देशन दिएका थिए ।

    सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । ‘राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुनुहोस् । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुनुहोस्,’ मन्त्री लामिछानेले भनेका थिए ।