कहिलेबाट घट्छ मूल्य पेट्रोलियम पदार्थको मूल्य ?

Lok Bhatta २ वर्ष अघि
  • निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बिहीवार बोलाएर जनताले राहत महसुस गर्नेगरी तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार प्रधानमन्त्रीको निर्देशनबमोजिम मूल्य घटाउने निर्णय अब सञ्चालक समितिले गर्नुपर्ने हुन्छ।  

    तर प्रधानमन्त्रीको निर्देशन र आपूर्तिसचिव तोयम रायाको सरुवा भएको निर्णय एकैदिन पर्‍यो। बिहीवार नै मन्त्रिपरिषद्‌को बैठकले सचिव रायालाई अर्थ मन्त्रालयका सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री दाहालले नै अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन्।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलियम पदार्थको मूल्य घट्ने पक्का भए पनि “ठ्याक्कै कहिलेबाट घट्छ भन्ने कुरा बताउन” अहिले गाह्रो छ।

    निगमका कार्यकारी निर्देशक थानीले बीबीसीसँग भनेः “प्रधानमन्त्रीज्यूको निर्देशन आएपछि त हामीले कार्यान्वयन गर्नैपर्छ। तर हिजो मात्र सरुवाको निर्णय भएर सचिवज्यूको आज [शुक्रवार] बिदाइ हुँदैछ।”

    “अब नयाँ सचिवज्यू आएर सञ्चालक समितिको बैठकपछि मात्रै यो विषयमा निर्णय हुन्छ। कतिले घटाउने निर्णय सञ्चालक समितिकै हुन्छ,” उनले थपे।

    स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको निर्देशन नआएको भए बिहीवार नै हवाई इन्धनको मूल्य केही घटाउने पक्षमा निगम थियो।

    तर प्रधानमन्त्रीले समग्रमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएपछि निगम हवाई इन्धनको मात्र मूल्य घटाउने निर्णयबाट पछि हट्यो।

    “हाम्रो सोच हाललाई हवाई इन्धनमा मात्रै घटाएर बक्यौता तिर्न सक्ने अवस्थामा निगमलाई राखिराख्ने भन्ने हो। तर पछिल्लो निर्देशनपछि खोइ के हुने हो,” स्रोतले भन्यो।

    साभार बीबीसी